काठमाडौँ । लगातार सात कारोबार दिनसम्म ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार भने सुधारिएको छ। बजारमा खरिदकर्ता सक्रिय बन्दा नेप्से ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा पुगेको हो।
सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो कारोबार दिन मंगलबार ३ अर्ब २५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार ९५ लाख ४७ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँ पुगेको छ।
कारोबार भएका कम्पनीमध्ये स्नो रिभर्स हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।
यसैगरी, सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने भुजुङ हाइड्रोपावरको शेयर मूल्य पनि करिब १४ प्रतिशतले उकालो लागेको छ।
यता, कारोबार रकमका आधारमा यस दिन लक्ष्मी सनराइज बैंक शीर्ष स्थानमा रहेको छ।

