काठमाडौँ । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक भएपछिको पहिलो कारोबार दिन शेयर बजारमा उत्साह देखिन सकेन। लगानीकर्ताले अपेक्षा गरेअनुसार बजारलाई प्रत्यक्ष टेवा पुग्ने व्यवस्था मौद्रिक नीतिमा समावेश नभएको विश्लेषणसँगै बुधबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार ३०.०९ अंकले घटेर २६२१.५९ विन्दुमा बन्द भएको हो। अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से बढेर बन्द भएको थियो।
बजार घटे पनि कारोबार रकम भने बढेको छ। बुधबार ३६२ वटा धितोपत्रको ८४ लाख ६३ हजार कित्ता शेयर किनबेच भएको छ। यसबाट कुल ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
यस दिन अधिकांश कम्पनीको शेयर मूल्य दबाबमा रहँदा मूल्य बढ्ने कम्पनीहरूको वृद्धि दर ६ प्रतिशतभन्दा कममा सीमित भएको छ। कारोबार रकमका आधारमा ११ प्रतिशत केबिएल डिबेञ्चर २०८९ शीर्ष स्थानमा रह्यो। उक्त ऋणपत्रको ६२ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

