काठमाडौँ । साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक चार कारोबार दिनको निरन्तर गिरावटपछि सामान्य सुधारसहित हरियो बनेको छ।
यस दिन नेप्से परिसूचक ६.११ अंकले बढेर २,५७६.२९ विन्दुमा पुगेको छ। नेप्सेमा सुधारसँगै कारोबार रकम पनि बढेको छ। सोमबार ७ अर्ब ४६ करोड रुपैयाँबराबरको कारोबार भएको बजारमा मंगलबार ३८३ वटा धितोपत्रको १ करोड ८२ लाख ९३ हजार कित्ता शेयर तथा ऋणपत्र किनबेच भई कुल ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकम बढ्नुमा यस दिन पनि ऋणपत्र (डिबेञ्चर) को उच्च कारोबार मुख्य कारण बनेको छ।
मूल्य वृद्धिका आधारमा ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेञ्चर २०८७ शीर्ष स्थानमा रह्यो। उक्त डिबेञ्चरको मूल्य १०.२२ प्रतिशतले बढेको छ। त्यसैगरी सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर २०८७ करिब १० प्रतिशतले उकालो लागेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।
७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९० को मूल्य सर्वाधिक ९.६८ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा शीर्ष १० धितोपत्रमध्ये ९ वटा ऋणपत्र रहेका छन्। सबैभन्दा बढी १० प्रतिशत केबिएल डिबेञ्चर २०९० को ५२ करोड ७१ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

