काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आर्थिक वर्ष २०८३/८४ का लागि नयाँ पूँजी बजार नीति सार्वजनिक गरेको छ। बोर्डले नेपालको पूँजी बजारलाई विश्वसनीय, पारदर्शी, समावेशी, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्ने दीर्घकालीन लक्ष्यसहित नीति सार्वजनिक गरेको हो।
बोर्डका अनुसार नयाँ नीतिले पूँजी बजारलाई केवल सेयर कारोबारमा सीमित नराखी राष्ट्रिय बचत परिचालन, उत्पादनशील क्षेत्रमा लगानी विस्तार, पूर्वाधार विकास, उद्यमशीलता प्रवर्द्धन तथा दिगो आर्थिक विकासको प्रमुख वित्तीय आधारका रूपमा स्थापित गर्ने लक्ष्य लिएको छ।
नीतिमा लगानीकर्ता संरक्षण, नियामकीय सुधार, बजार विस्तार, वित्तीय नवप्रवर्तन, संस्थागत सुशासन तथा डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राखिएको छ। यसअन्तर्गत कृत्रिम बुद्धिमत्ता (AI), बिग डाटा, RegTech, SupTech तथा साइबर सुरक्षामा आधारित नियामकीय प्रणाली विकास गर्दै सेवा प्रवाहलाई पूर्ण रूपमा डिजिटल बनाउने योजना अघि सारिएको छ।
बोर्डले आगामी दिनमा कर्पोरेट ऋणपत्र बजार सुदृढ गर्ने, नगर ऋणपत्र, हरित ऋणपत्र, प्राइभेट इक्विटी, भेञ्चर क्यापिटल, एक्सचेन्ज ट्रेडेड फन्ड (ETF), REIT लगायतका आधुनिक वित्तीय उपकरणहरूको विकासलाई प्राथमिकता दिने उल्लेख गरेको छ। साथै, गैरआवासीय नेपाली (एनआरएन) लाई दोस्रो बजारमा लगानी गर्ने वातावरण तयार गर्ने, साना तथा मझौला उद्यम (SMEs) र स्टार्टअपलाई पूँजी बजारमार्फत वित्तीय पहुँच उपलब्ध गराउने लक्ष्य पनि नीतिमा समेटिएको छ।
लगानीकर्ताको विश्वासलाई पूँजी बजारको सबैभन्दा ठूलो सम्पत्ति मान्दै बोर्डले वित्तीय साक्षरता विस्तार, लगानीकर्ता शिक्षा, प्रभावकारी गुनासो व्यवस्थापन, पारदर्शी सूचना प्रणाली तथा भित्री कारोबार (Insider Trading) र बजार हेरफेर (Market Manipulation) विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्ने जनाएको छ।
बोर्डले आर्थिक वर्ष २०८३/८४ लाई "संरचनागत सुधार तथा संस्थागत सुदृढीकरणको वर्ष" का रूपमा परिभाषित गर्दै आगामी दशकका लागि ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ कार्यान्वयनको पहिलो चरणका रूपमा यो नीति लागू गरिने जनाएको छ।

