काठमाडौँ । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार दोस्रो दिन पनि बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन सामान्य सुधार देखिएको बजारले बुधबार पनि सकारात्मक लयलाई निरन्तरता दिएको हो।
यस दिन नेप्से परिसूचक १४.०० अंकले बढेर २,५९०.२९ विन्दुमा पुगेको छ। बजार परिसूचक बढे पनि कारोबार रकम भने उल्लेख्य रूपमा घटेको छ।
मंगलबार ८ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा बुधबार ३६२ वटा कम्पनीका ८४ लाख ७३ हजार कित्ता शेयर ३८ हजार ८३६ पटक किनबेच हुँदा कुल ४ अर्ब १७ करोड ३ लाख ९८ हजार रुपैयाँबराबरको कारोबार भएको छ। पछिल्ला दिनहरूको तुलनामा ऋणपत्र कारोबार घटेकाले समग्र कारोबार रकममा पनि कमी आएको हो।
बजारमा कारोबार भएका धितोपत्रमध्ये एनएमबि डिबेञ्चर १०.७५ प्रतिशत २०८९/९० को मूल्य सर्वाधिक ९.२० प्रतिशतले बढेको छ। त्यस्तै नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ८.५ प्रतिशत र थ्रिस्टार हाइड्रोपावरको शेयरमूल्य करिब ६.५ प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा भने १० प्रतिशत हिमालयन बैंक डिबेञ्चर २०८३ अग्रस्थानमा रह्यो। उक्त ऋणपत्रको मात्रै ४४ करोड १० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।

