काठमाडौँ । दुईपाँग्रेदेखि ठूला सवारी साधनका लागि आवश्यक पर्ने ब्याट्री नेपालमा नै उत्पादन हुँदै आएको छ ।
एसटीसी ग्रुपले स्थापना गरेको एसटीसी इनर्जी इन्डस्ट्रिज प्रालिले नेपालमा नै पहिलो पटक सबै किसिमका सवारी साधन र इनभर्टरमा प्रयोग गर्न सकिने ब्याट्री उत्पादन गरेको हो ।
हेटौंडाको औद्योगिक क्षेत्रमा झन्डै २१ रोपनी क्षेत्रफलमा फैलिएको उक्त उद्योगबाट तीन वर्षदेखि नेपाली ब्याट्री उत्पादन हुँदै आएको हो । उत्पादनको एक वर्षको अबधिमा नेपालभर नेपाली उत्पादन पुर्याउन सफल भएको श्री एसटीसी ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले जानकारी दिए ।
उनका अनुसार उद्योगमा ८० प्रतिशत नेपाली कच्चा पदार्थको प्रयोग गरीएको छ भने २० प्रतिशत कच्चा पदार्थ विभिन्न देशबाट ल्याइएको छ । ब्याट्रीमा राख्नुपर्ने एसीट र बाहिरी कन्टेनर बाहिरबाट ल्याउनु परेको उनले बताए । हालसम्म ५० करोड रुपैयाँभन्दा बढी लगानी भएको उक्त उद्योगले हाल क्षमताको २५ प्रतिशतमात्रै उत्पादन गरेको छ ।
उद्योगमा भारत, चीन र जापानबाट मेसिन ल्याइएको उनले बताए । जसअनुसार ‘भीआरएलए टेक्नोलोजी’ चीनबाट ल्याइएको हो । नवीनतम टेक्नोलोजीमा पर्ने भीआरएलए टेक्नोलोजीको कारण यसले विश्वका कुनै पनि देशमा उत्पादन भएको लिड एसिड ब्याट्रीसँग प्रतिस्पर्धा गर्न सक्नेछ ।
प्रतिमहिना डेढ लाख उत्पादन
श्री एसटीसी उद्योगबाट हाल प्रतिमहिना डेढ लाख ब्याट्री उत्पादन हुन थालेको छ । टु–हिवलर ब्याट्रीमार्फत आफ्नो उत्पादन यात्रा थालेको सो उद्योगले अहिले अटोमोटिभ, ई–रिक्सा र इन्भर्टर ब्याट्री बजारमा ल्याइसकेको छ ।
जसमा मोटरसाइकल तथा स्कुटर, कार/जीप/भ्यानसँगै ठूला सवारीसाधन, रिक्सा, इनभर्टर लगायतका लागि आवश्यक पर्ने ब्याट्री उत्पादन एकै उद्योगबाट हुन्छ ।
अहिले मासिक २५ हजार दुईपाङ्ग्रेको ब्याट्री उत्पादन भइरहेको कम्पनीका प्रबन्ध निर्देशक सुरेशकुमार उप्रेतीले जानकारी दिए । साथै, अटोमोटिभ ब्याट्री मासिक २० हजार बनाउन थालेको बताउँदै उप्रेतीले भने, ‘यस वर्ष वार्षिक ४ लाखदेखि ५ लाख युनिट बिक्री गर्ने लक्ष्य राखेका छौं ।’
सुरुवाती चरणमा केही कम उत्पादन भएपनि माग बढ्दै गएपछि उत्पादन समेत बढाईएको उद्योगले जनाएको छ ।
कम्पनीले दुई पांग्रेका लागि आवश्यक पर्ने ब्याट्री प्रतिमहिना २५ हजार थान उत्पादन गर्दै आएको छ । दुई पांग्रेको ब्याट्री वार्षिक ५ लाख हाराहारीमा बिक्री गर्ने लक्ष्य कम्पनीको रहेको बताउँदै उप्रेतीले चालू आर्थिक वर्षभित्र ३ लाखको हाराहारीमा बिक्रीको लक्ष्य रहेको बताए ।
एसटीसी ग्रुपका दुई ब्राण्डहरु एसटीसी राइड र एसटीसी इनर्जी नाम भएका ब्याट्री हाल बजारमा रहेको छ ।
अन्य स्थानको तुलनामा हाल नेपाली ब्याट्रीको माग काठमाडौँ उपत्यकामा माग बढी रहेको उद्योगका सेल्स एण्ड मार्केटिङ हेड संजाेक पौडेलले बताए । कम्पनीले दिने ग्यारेन्टी र वारेन्टीकै कारण ग्राहकहरु बढ्दो क्रममा रहेको उनको भनाई छ ।
‘अहिले बजारमा प्रयोग हुने अधिकांश ब्याट्री विदेशी छन् । विदेशी कम्पनीले वारेन्टी तथा ग्यारेन्टी त राखेका हुन्छन्, तर त्यसको सम्पर्क व्यक्ति नहुँदा समस्या हुने रहेछ’, उनले भने, ‘हामी नेपाली कम्पनी, केही भएर ब्याट्रीमा कुनै समस्या भैहाल्यो भने सम्पर्क गर्न सहज हुने । पछि समस्या सुनाउँन पाइन्छ भनेरै पनि विस्तारै नेपाली ग्राहकको रोजाइमा पर्न थालेका छाैँ ।’
अन्तर मन्त्रालय समन्वय नहुँदा कच्चा पदार्थ आयातमा समस्या
८० प्रतिशत नेपाली कच्चा पदार्थको प्रयोग गरी ब्याट्री उत्पादन हुँदै आएतापनि आयात गर्नुपर्ने कच्चा पदार्थका लागि धेरै झन्झटीले प्रणाली रहेको उप्रेतीले गुनासो गरे । उनले अन्य कच्चा पदार्थको तुलनामा ब्याट्रीमा राखिने एसिड ल्याउन धेरै झन्झट हुने बताए ।
‘हामीले प्रतिवर्ष यती मात्रामा एसिट ल्याउछाैँ भनेर गृह मन्त्रालयलाई निवेदन दिएका हुन्छौँ । काम गर्दै जादा थप आयात गर्नुपर्ने अवस्था बन्यो भने निकै अप्ठ्यारो छ’, उनले भने, गृह, भन्सार र उद्योग मन्त्रालयबीच समन्वय नहुँदा धेरै अप्ठ्यारो हुने गरेको छ ।’
उनले उद्योगले भारतका ठूला र प्रतिष्ठित मानिने ब्याट्रीमा प्रयोग हुने गुणस्तरकै कच्चा पदार्थको प्रयोग गरिएको बताउँदै गुणस्तरमा कुनै कमी नगरीएको बताए ।
कच्चा पदार्थसँगै उद्योगले भारतका ती उद्योगमा लामो समय काम गरेका दक्ष तथा अनुभवी प्राबिधिकको निगरानीमा काम गर्दै आएको छ । लामो समयसम्म भारतका विभिन्न ब्याट्री उद्योगमा काम गरेर प्राविधिक सुन्दर मुर्तीले नै हाल सबै जिम्मा लिएका छन् ।
ब्याट्री उत्पादनदेखि नेपाली जनशक्तिलाई तालिम दिनेसम्मका काम उनलै नै गरेको प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेतीले बताए । भारतीय प्राविधिक ल्याउन समस्या हुने भन्दै नेपालीलाई नै सिकाउनुपर्ने मूर्तीको माग अनुसार हाल केही प्राविधिकहरु उक्त काम सिक्दै गरेको समेत उनले बताए ।
भारतले दियो निर्यातको अनुमति
उत्पादनको छोटो समयमानै सो उद्योगबाट उत्पादन हुने ब्याट्रीले भारतबाट गुणस्तरको मापदण्ड समेत प्राप्त गरिसकेको छ । भारतको ब्यूरो अफ इण्डियन स्ट्यान्डर्ड (बिआइएस) र अटोमोटिभ रिसर्च एसोसिएसन अफ इण्डिया (एआएआई) बाट गुणस्तरको प्रमाणपत्र पाइसकेको छ ।
उनले भारतबाट निर्यातको अनुमति पाइसकेको भन्दै नेपाली ब्याट्री भारत निर्यातको बाटो खुलेको बताए ।
उद्योगबाट हाल लेड एसिड ब्याट्री मात्र उत्पादन भइरहेको छ । हरेक प्रकारका सवारीसाधनका लागि अत्यावश्यक मानिने ब्याट्रीको प्रबिधीमा नयाँनयाँ प्रयोग हुँदै आएकाले सोही अनुरुप उद्योगलाई परिमार्जन गर्दै लाने कम्पनीको तयारी छ ।
बजारको माग र प्रबिधीमा आएको परिवर्तनसंगै आँफूलाई परिमार्जन गर्दै जाने तयारीमा रहेको एससिटी इनर्जीले निकट भविष्यमा लिथियम आयोन ब्याट्री समेत उत्पादन गर्ने योजना बनाएको छ ।
उद्योगमा प्रयोग गरिएका उपकरण अत्याधुनिक प्रबिधी र पूर्णरुपमा स्वचालित भएका कारण गुणस्तरमा कुनै समस्या नरहेको प्लान्ट हेड सुन्दर मूर्तीले बताए । लामो समयसम्म भारतका विभिन्न ब्याट्री उद्योगमा काम गरेर अनुभबले खारिएका मूर्तीलाई उद्योगले उत्पादन र गुणस्तर नियन्त्रण लगायतको जिम्मेवारी दिएको छ ।
उद्योगबाट हाल लेड एसिड ब्याट्री मात्र उत्पादन भइरहेको छ । हरेक प्रकारका सवारीसाधनका लागि अत्यावश्यक मानिने ब्याट्रीको प्रबिधीमा नयाँनयाँ प्रयोग हुँदै आएकाले सोही अनुरुप उद्योगलाई परिमार्जन गर्दै लाने कम्पनीको तयारी छ ।
नेपालमा ब्याट्री तथा ब्याट्रीजन्य सामाग्रीहरु अस्ट्रिया, बंगलादेश, चीन, फ्रान्स, जर्मनी, भारत, कोरिया, मेक्सिको, स्पेन, थाइल्यान्ड, अमेरिका, भियतनाम, अस्ट्रेलिया, ताइवान, नामिबिया, नेदरल्यान्ड, सिंगापुर, इटाली, जापान, मलेसियालगायतका देशबाट आयात हुँदै आएका छन् ।

