२०८३, भाद्र ४ गते

images
  • विशेष
  • कसको स्वार्थमा खोसियो सरकारी कम्पनी नेपाल...

कसको स्वार्थमा खोसियो सरकारी कम्पनी नेपाल रिको ३ अर्बको बीमा कारोबार?

कसको स्वार्थमा खोसियो सरकारी कम्पनी नेपाल रिको ३ अर्बको बीमा कारोबार?

images
बिहिवार, आषाढ ५ २०८२०६:३६
बिहिवार, आषाढ ५ २०८२०६:३६
  • काठमाडौँ । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि) सँग वर्षौँदेखि रहँदै आएको वैदेशिक रोजगार म्यादी बीमालेखको जिम्मेवारी एकाएक निजी क्षेत्रको कम्पनी हिमालयन रि इन्स्युरेन्सलाई सुम्पिएको प्रकरणले गम्भीर प्रश्न उठाएको छ ।

    बिनाअनुमति र सूचनाबिना कम्पनीको सर्वाधिक नाफाको कारोबार निजी क्षेत्रलाई दिनु केवल नियामक लापरवाही मात्र होइन, स्पष्ट नीतिगत भ्रष्टाचार भएको भन्दै नेपाल रिका कर्मचारीहरू आक्रोशित छन् ।

    यो निर्णय नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र नेपाल रिका सीईओ सुरेन्द्र थापाको सहमतिमा भएको खुलेको छ । थापा स्वयंले बीमा प्राधिकरणमा ‘दुबै पुनर्बीमा कम्पनीहरूको सहमतिमा वैदेशिक रोजगार बीमा कोषको व्यवस्थापन हिमालयन रिलाई दिने निर्णय भएको’ भन्दै पत्र पठाएका छन् । तर यो सहमति कहाँ, कसरी र किन गरिएको भन्ने प्रश्न अझै अनुत्तरित छ ।

    प्राधिकरणमा पठाइएको फागुन ३ गतेको पत्रमा नेपाल रि र हिमालयन रिका सीईओद्वारा हस्ताक्षरित निर्णय अनुसार, ‘वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमाकोष (पुल) स्थापना तथा सञ्चालनसम्बन्धी निर्देशिका, २०८१ को दफा ५ र ६ कार्यान्वयनमा कठिनाइ भएको’ भन्दै हाललाई हिमालयन रि ले कोषको सम्पूर्ण व्यवस्थापन गर्ने उल्लेख गरिएको छ ।

    तर नेपाल रि भित्र यो निर्णयबारे न त कर्मचारीलाई जानकारी दिइयो, न त सञ्चालक समितिलाई नै औपचारिकरूपमा अवगत गराइएको थियो ।

    कम्पनीका स्वतन्त्र कर्मचारी युनियनमा आवद्ध एक कर्मचारी भन्छन्, ‘सरकारी स्वामित्वको कम्पनीबाट तीन अर्ब वार्षिक कारोबार निकालेर निजी कम्पनीलाई सुम्पनु नीतिगत भ्रष्टाचार हो । यस्तो निर्णय कर्मचारीलाई जानकारी नगराई, सञ्चालक समिति छलाएर गरिनु गम्भीर विषय हो ।’

    अझ अचम्म त तब भयो जब खुलासा भयो, २०८१ फागुन ४ मा बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष (हाल आन्तरिक राजश्व विभागका महानिर्देशक) मदन दाहालको अध्यक्षतामा बसेको समितिले हिमालयन रि लाई ४ वर्षका लागि पुनर्बिमाको अनुमति दिएको विषय । 

    ‘प्राधिकरणमा नयाँ अध्यक्ष आउने लगभग अन्तिम चरणमा कार्यवाहक अध्यक्ष मदन दाहालको अध्यक्षतामा बसेको बैठकले नै गरेको उक्त नीतिगत भ्रष्टाचार अमान्य छ । अध्यक्ष छनौटको अन्तिम चरणमा हतार हतारमा निर्देशिकाको संशोधन हुनु नै गलत हो । यसको जवाफ सम्बन्धीत निकायले दिनुपर्छ’, ‘नेपाल रि का एक कर्मचारीले भने, ‘मदन दाहालले हतारमा गरेको निर्णयको कार्यान्वयन हालका अध्यक्ष शरद ओझा र नेपाल रिका सीईओ थापाले लिनुपर्छ ।’

    त्यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शरद ओझाले नियुक्तिको क्रममा पेश गरेका कागजातमाथि समेत शंका उठाउँदै छानबिन सुरु गरिसकेको छ । अब भने उनलाई यो निर्णय प्रक्रियासमेत थपिएर अनुसन्धानको दायरामा परेको छ ।

    नेपाल रि भित्रकै स्रोत अनुसार, वैदेशिक रोजगार बीमालेखबाट वर्षेनि झण्डै ३ अर्ब रुपैयाँको पुनर्बीमा कारोबार हुने गर्छ । यो कम्पनीको आम्दानीको मुख्य स्रोतमध्ये एक हो । यही कारोबार अहिले प्रतिस्पर्धात्मक प्रक्रिया र पारदर्शिता विनै निजी कम्पनीलाई सुम्पनु नियामक–नियन्त्रक र व्यावसायिक कम्पनीबीच गहिरो मिलीभगतको संकेत दिन्छ ।

    कसको स्वार्थमा यस्तो निर्णय गरियो ? किन पारदर्शिता पालना गरिएन ? किन कर्मचारी, सञ्चालक समिति, सम्बन्धित मन्त्रालयसम्म छलफल भएन ? यी प्रश्नहरू अहिले सार्वजनिक क्षेत्रको बीमा व्यवसायको नियमन र व्यवस्थापनमाथि गम्भीर आशंका बनिरहेका छन् ।

    सरकारी संस्थाको प्रतिस्पर्धात्मक क्षमतामाथि नै प्रश्न उठाउने गरी गरिएको यो निर्णय तत्काल सच्याइनु पर्ने आवाज अब नेपाल रि भित्र मात्र होइन, सम्पूर्ण बीमा क्षेत्रमै उठ्न थालेको छ । अब यो विषय केवल ‘कसले सिफारिस ग¥यो’ भन्नेमा सीमित रहेन, यो ‘किन’ र ‘कसका लागि’ भन्नेमा केन्द्रित हुँदैछ ।

    बीमा प्राधिकरणका तत्कालीन सीईओ दाहालको निर्देशनमा उनले नेपाल रि लाई डुवाउने निर्णय गरेका हुन् ।

    तर, नेपाल रि का सीईओ थापा भने बीमा प्राधिकरणमा आपसी सहमतिमै निर्णय भएको बताउँछन् । ‘सबैको सल्लाहमै आगामी ४ वर्षका लागि हिमालयन रि लाई दिने निर्णय भएको हो । यो कार्यकाल हिमालयनले लिएपछि आगामी कार्यकाल नेपाल रि ले लिनेगरी सहमति भएको हो’, उनले भने । 

    हिमालयन रि लाई पोस्दै नेपाल रि का सीईओः म्यादी पछि अब पालो मोटर बीमाको हिमालयन रि लाई पोस्दै नेपाल रि का सीईओः म्यादी पछि अब पालो मोटर बीमाको 

    बीमा प्राधिकरणका अध्यक्ष ओझा अख्तियारको दोहोरो अनुसन्धानमा बीमा प्राधिकरणका अध्यक्ष ओझा अख्तियारको दोहोरो अनुसन्धानमा

    स्वार्थ समूहको चंगुलमा ओझाः नेपाल रिको ३ अर्बको व्यापार खोसेर हिमालयनलाई स्वार्थ समूहको चंगुलमा ओझाः नेपाल रिको ३ अर्बको व्यापार खोसेर हिमालयनलाई

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend