काठमाडौँ । नेपाली लगानी र प्रविधिमा नेपाल आयल निगमले पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक प्रविधिजडित हवाई इन्धन डिपो निर्माण सम्पन्न गरेको छ । निगमको ५५ वर्षे इतिहासमा पहिलो पटक शतप्रतिशत स्वदेशी सीप र पुँजीमा उक्त डिपो निर्माण गरिएको हो ।
स्वदेशी सीप र पुँजीसँगै पहिलो पटक नै तोकिएको समयभित्र सो आयोजना निर्माण सम्पन्न भएको हवाई इन्धन डिपो निर्माण परियोजना, पोखरा कास्कीका परियोजना प्रमुख इ. प्रदिप कुमार यादवले जानकारी दिए ।
उनले निर्माण सम्पन्न भएपछि दिनरात केही नभनि काम गर्दा तोकिएको समयभित्रै सम्पन्न गर्न आफू सफल भएको बताए । उनले आफूले आयोजना प्रमुखको जिम्मेवारी लिएको १५ महिनाको अवधिमा निर्माण सम्पन्न भएको बताए ।
उनका अनुसार २०८० साल साउन १ गते निर्माण सुरु भएको यो डिपो तोकिएको दुई वर्षको अवधिमा निर्माण सम्पन्न भएको छ । डिपोको उद्घाटन यही साउन महिनामा गर्ने तयारी रहेको छ ।
उक्त डिपोको डीपीआर त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकले बनाएको हो । पोखरामा निर्माण सम्पन्न भएर उद्घाटनको तयारी हुँदैगर्दा त्रिविकै सहयोगमा सिनामंगलको डीपीआर अन्तिम चरणमा पुगेको छ ।
त्रिविका सहायक डिन डा सुरज लामिछानेले पोखरामा निर्माण गरिएको अत्याधुनिक हवाई इन्धन डिपो ३ कारण खास रहेको बताए । ‘पहिलो यो डिपो नेपाली लगानी र विज्ञतामा बनेको डिपो, पहिलो पटक अन्तर्राष्ट्रिय मानपदण्ड स्तरीय र तोकिएको समयभित्रै सम्पन्न डिपो भएको छ । मुख्य यी ३ खास कारण यो डिपोलाई उत्कृष्ट भनेको हुँ’, उनले भने ।
पोखरा क्षेत्रिय विमानस्थल परिसरमै रहेको ९ हजार २ सय १५ वर्गमिटर क्षेत्रफलको जग्गा नागरिक उड्डयन प्राधिकरणसँग लिज सम्झौता गरी निगमले उपयोग गर्दै आएको छ । निगमले अहिले पाँच वर्षका लागि सम्झौता गरेको र यो नवीकरण हुँदै जाने बताएको छ ।
२०७७ साल चैत २ गते हवाई इन्धन डिपो निर्माणका लागि सार्वजनिक खरिद ऐनअनुसार बोलपत्र आह्वान भएको थियो । तर, विविध कारणले डेढ वर्षपछि २०७९ साल कात्तिक २९ गते मात्रै बोलपत्र पेस गर्नेमध्ये सार्वजनिक खरिद ऐनको प्रावधानअनुसार तोकिएको योग्यता र न्यूनतम रकम कबोल गर्ने निर्माण व्यवसायीसँग निर्माणकार्य अघि बढाउन सम्झौता भएको थियो । लगत्तै, २०७९ साल पुस १५ मा प्राधिकरणसँग जग्गा भाडामा लिने विषयमा सम्झौता कार्य सम्पन्न भएको थियो ।
पोखरा विमानस्थलमा हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको चापलाई मध्यनजर गर्दै १२ सय किलोलिटर क्षमताको ३ वटा ठूला भण्डारण गृह (कुल ३ हजार ६ सय किलोलिटर हवाई इन्धन भण्डारण गर्न मिल्ने स्टोरेज ट्यांक) निर्माण गरिएको छ । भर्टिकल स्टोरेज ट्यांकको उचाइ १२ मिटर र ब्यास पनि १२ मिटर रहेको छ ।
त्यस्तै, डिपो सुरक्षामा उच्च सतर्कता अपनाउनका लागि १२ सय किलोलिटर क्षमताको अलग्गै पानी ट्यांकी निर्माण सम्पन्न भएको छ । उक्त पानी ट्यांकीसँग डिपोको वरिपरि जडान गरिएको फायर फाइटिङ संरचनलाई आबद्ध गरिएको छ । जसकारण, डिपोलाई उच्च सुरक्षा प्रदान गर्न मद्दत मिलेको छ ।
भण्डारण गृहमा रहेको हवाई इन्धन पाइपका सहायताले रिफ्युलमा भर्न तथा ट्यांकरबाट ल्याइएको हवाई इन्धन भण्डारण गृहमा राख्नका लागि आवश्यक मात्रामा प्रोडक्ट पम्पहरू तथा लोडिङ÷अनलोडिङमा क्रमशः १ माइक्रोन र ५ माइक्रोनका फिल्टर जडान गरिएको छ। यहाँ जडान गरिएको स्टोरेज ट्यांक तथा फलामको पाइपहरू अमेरिकन पेट्रोलियम इन्स्टिच्युड (एपीआई) मापदण्डमा आधारित रहेको पनि जनाइएको छ । परियोजनाको कुल लागत अनुमान ७५ करोड (भ्याट बाहेक) रहेको छ ।
सिनामंगल हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ
नागरिक उड्डयन प्राधिकरणले नयाँ स्थानमा जग्गा उपलब्ध गराउन आलटाल गर्दा सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण गर्न ढिलाइ भएको आयल निगमले जनाएको छ ।
नयाँ गुरुयोजना बनाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिस्तार गरिरहेको प्राधिकरणले हाल हवाई इन्धन डिपो रहेको निगमको सिनामंगलस्थित कार्यालयमा ‘ट्याक्सी वे’ बनाउने र इन्धन डिपोका लागि विमानस्थलको उत्तर–पश्चिम कुना गुह्येश्वरीमा जग्गा उपलब्ध गराउने नीति लिएको छ । तर, नौ महिनायता उक्त स्थानको जग्गा उपलब्ध गराउन प्राधिकरणका तर्फबाट ठोस प्रगति नभएको आयोजना प्रमुख यादवले जानकारी दिए ।
मन्त्रिपरिषद्ले गत २८ भदौमा सिनामंगलस्थित हवाई इन्धन डिपो गुह्येश्वरीमा स्थानान्तरण गर्न स्वीकृति दिइसकेको छ । त्यसयता प्राधिकरणले जग्गा खाली गर्नका लागि माटोको ढिस्को कटान गर्नेबाहेक अन्य केही काम नगरेको उनको भनाई छ ।
निगमले सो क्षेत्रमा डिपो स्थानान्तरणसम्बन्धी विस्तृत परियोजना प्रस्ताव निर्माणका लागि त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थान कन्सल्टेन्सी सेवा पुल्चोकसँग गत मङ्सिर ५ गते सम्झौता गरेको थियो । इन्जिनियरिङ अध्ययन संस्थानले निगमलाई प्रारम्भिक प्रतिवेदन बुझाइसकेको छ । अन्तिम प्रतिवेदन यही असार मसान्तसम्म बुझाउने छ ।
विस्तृत परियोजना प्रस्ताव प्राप्त हुने क्रममा रहेकाले जग्गा प्राप्ति प्रक्रिया टुङ्गिने बित्तिकै डिपो स्थानान्तरणको काम तीव्र गतिमा अघि बढाउने निगमको योजना छ । प्रारम्भिक प्रतिवेदनअनुसार डिपो स्थानान्तरण गर्न करिब सात अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।
आयल निगमद्वारा ७५ करोडको लागतमा पोखरा विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो निर्माण

