काठमाडौँ । दुई तीनदेखि जनकपुर विमानस्थलको रनवे मा चराका गतिविधि बढ्न थालेपछि उडान तथा अवतरण नै प्रभावित हुन थालेको छ ।
विमानस्थलमा चराका गतिविधिहरु बढ्न थालेपछि उडान तथा अवतरणलाई निकै जोखिम हुन थालेको वायुसेवा कम्पनीहरुले बताएका छन् ।
बुद्ध एयरले जनकपुर विमानस्थलमा चराका गतिविधि बढ्न थालेपछि समस्या भएको बताएको छ । बुद्धले जनकपुर विमानस्थलमा मात्रै पछिल्लो ८ दिन चराले दुख दिदा रात्री उडानमा नै समस्या हुन थालेको जनाएको छ ।
यस्तै, बुद्धले जनकपुरपछि भद्रपुर उडानका क्रममा समेत चराले गर्दा जहाज ओभरसुट गर्न परेको जनाएको छ ।
‘आज पनि बिहान पनि काठमाडौं भद्रपुर उडानमा जहाज ओभरसुट गर्नुपरेको थियो । कारण फेरि विभिन्न चराहरुको आवाजाही । विभिन्न अनलाईन न्यूज पोर्टल तथा सामाजिक सञ्जालमा विमानस्थलभित्र चितुवा, स्याल देखिएका भिडियोहरु प्रस्सतै भेट्न सकिन्छ’, बुद्धले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘विमानस्थलभित्र रहेका ठूलठूला झाडी एवं घाँस समयमा नउखेल्दा, नसम्याउँदा यस्ता समस्या बढ्नु स्वभाविक हो । वर्षाको बेला रनवे वरिपरि किरा निस्कदा चराहरु झुम्मिन्छ । यी स–साना समस्याहरुलाई समयमै ध्यान नदिंदा उडानहरु जोखिममय बन्दै गएको छ ।’
चरा ठोक्किएपछि जहाजलाई मिहिन ढंगले परीक्षण गर्नुपर्ने र मर्मतसम्भार गर्दा थप समय खर्चिनु पर्दा उडान सेड्युल नै प्रभावित भएको बुद्धले जनाएको छ । चराका कारण समयमै उडान भर्न नपाउँदा विमान कम्पनी तथा सर्वसाधारणले सास्ती भोग्नुपरेको बुद्धले जनाएको छ ।
नियमित मर्मतसम्भार अत्यन्तै महँगो हुँदै गईरहेको अवस्थामा यस्ता समस्याले झन् विमान कम्पनीहरुको आर्थिक व्ययभार बढाएको विज्ञप्तीमा उल्लेख छ ।
बुध्द एयरले बर्ड तथा एनिमल एक्टिभिटिज रोकथामका लागि सरोकारवाला निकायसँग सहकार्य गर्न तयार रहेको बताउँदै विमानस्थल वाहिर सडेगलेका खाद्यपदार्थ, सिनो नफाल्न जनजागरण कार्यक्रम गर्न पनि आवश्यक रहेको जनाएको छ ।
जनकपुर विमानस्थलमा पछिल्ला केही दिनका घटना
जुन १३ – दिउँसो अवतरणका क्रममा बर्ड स्ट्राइक
जुन २६ – विहान अवतरणका क्रममा बर्ड स्ट्राइक
जुलाई ५ – रनवेमा जहाजसँग स्याल ठोक्किएको
जुलाई १८ – विहान अवतरण क्रममा बर्ड स्ट्राईक
जुलाई २३ – रनवेमा स्याल देखिंदा जहाज काठमाडौं फिर्ता
जुलाई ३० – अवतरणका क्रममा बायाँ इञ्जिनको प्रोपेलरमा चरा ठोक्किदा प्रोपेलर क्षतिग्रस्त
५ अगस्त – रात्रिकालिन अतवरणका क्रममा चरा ठोक्किएको
६ अगस्त – रात्रिकालिन अतवरणका क्रममा बायाँ इञ्जिनको प्रोपेलरमा चरा ठोक्किदा प्रोपेलर क्षतिग्रस्त

