काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राविधिक समस्याका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को नियमित कारोबार स्थगित भएको घटनामाथि अध्ययन तथा जाँचबुझ सुरु गरेको छ।
सेबोनले नेप्सेलाई उक्त अवस्था सिर्जना हुनुको कारण अध्ययन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेस गर्न निर्देशन दिएको छ।
सेबोनका अनुसार नेप्सेबाट प्राप्त जानकारीअनुसार अनुमतिपत्र प्राप्त ९२ धितोपत्र दलाल व्यवसायीमध्ये ७२ वटा ब्रोकरका सर्भर रहेको डाटा सेन्टरमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या देखिएको थियो। समस्या समाधान हुन नसकेपछि असोज ५ गतेको नियमित धितोपत्र कारोबार स्थगित गरिएको थियो।
ठूलो संख्यामा ब्रोकरको कारोबार पूर्वाधार प्रभावित भई दोस्रो बजारको नियमित कारोबार नै रोक्नुपर्ने अवस्था सिर्जना भएको घटनालाई बोर्डले गम्भीर रूपमा लिएको जनाएको छ।
घटनाबारे नेप्सेबाट जानकारी प्राप्त भएपछि सेबोनले आफ्नै तर्फबाट समेत निरीक्षण अघि बढाएको छ। प्राविधिक समस्या तथा कारोबार स्थगित गर्नुपर्ने अवस्था सिर्जना हुनुको कारण पहिचान गर्न बोर्डका उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोली गठन गरिएको छ।
निरीक्षण टोलीले डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या कसरी उत्पन्न भयो, त्यसबाट ब्रोकर तथा नेप्सेको कारोबार प्रणालीमा कस्तो जोखिम सिर्जना भयो र भविष्यमा यस्ता समस्या दोहोरिन नदिन के-कस्ता सुधार आवश्यक छन् भन्ने विषयमा अध्ययन गर्नेछ।
यसअघि नेप्सेले पनि असोज ५ गते सूचना जारी गर्दै ७२ कारोबार सदस्य कम्पनीका सर्भर रहेको डाटा सेन्टरमा अघिल्लो दिन बिहानदेखि प्राविधिक समस्या आएको जनाएको थियो। समस्या समाधान नभएको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने अवस्था देखिएपछि उक्त दिनको कारोबार स्थगित गरिएको नेप्सेको भनाइ थियो।
सेबोनले निरीक्षण टोलीको सुझाव तथा प्रतिवेदनका आधारमा धितोपत्र बजारलाई थप स्वस्थ, सुरक्षित र पारदर्शी बनाउन आवश्यक सुधारका काम अघि बढाउने जनाएको छ।
तर, डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याको ठ्याक्कै कारण भने सेबोनले सार्वजनिक गरेको छैन। बोर्डले हाल घटनालाई प्राविधिक समस्याका रूपमा उल्लेख गर्दै त्यसको विस्तृत कारण पहिचानका लागि निरीक्षण टोली परिचालन गरेको जनाएको छ।

