काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले चर्चित व्यवसायी दीपक भट्ट, सुलभ अग्रवाल, शेखर गोल्छालगायत २९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ । विभागले करिब २० अर्ब रुपैयाँ बिगो कायम गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई अनुसन्धान प्रतिवेदन बुझाएको हो ।
सरकारी वकिल कार्यालय स्रोतका अनुसार इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्ट, जगदम्बा होल्डिङ्सका अध्यक्ष सुलभ अग्रवाल र उनकी पत्नी सुभी अग्रवाल, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा ग्रुपका शाहिल अग्रवाल, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा, जावलाखेल ग्रुपका राजबहादुर शाह, हिमालयन रि–इन्स्योरेन्सकी सीईओ उपासना पौडेललगायतमाथि मुद्दा चलाउन सिफारिस गरिएको हो ।
भट्ट काण्डमा शक्तिशाली ‘सिन्डिकेट’, गोल्छासम्म जोडिएको नेटवर्कको खुलासा
विभाग, प्रहरी र सरकारी वकिल कार्यालयका अधिकारीहरूका अनुसार अनुसन्धान प्रतिवेदन वैशाख दोस्रो सातामै बुझाइएको थियो । प्रतिवेदन अध्ययन अन्तिम चरणमा पुगेको र अर्को सातासम्म मुद्दा दायर हुन सक्ने तयारी रहेको जनाइएको छ ।
अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार आरोपितहरूले बिमा, धितोपत्र तथा सेयर कारोबारसम्बन्धी कानुन उल्लंघन गरी गैरकानुनी रूपमा आर्जन गरेको रकम धितोपत्र बजार र अन्य क्षेत्रमा लगानी गरेर स्रोत लुकाउने काम गरेको निष्कर्ष निकालिएको छ । उनीहरूविरुद्ध २ देखि १० वर्षसम्म कैद, बिगोबराबर जरिवाना तथा स्रोत नखुलेको सम्पत्ति जफतको मागसहित मुद्दा दायर गर्ने तयारी छ ।
विभागले सुलभ अग्रवाललाई चैत २१ गते र दीपक भट्टलाई चैत १९ गते पक्राउ गरेको थियो । शंकरलाल अग्रवाललाई पनि पक्राउ गरिएको भए पनि दुई दिनपछि हाजिरी जमानीमा रिहा गरिएको थियो । शेखर गोल्छालाई सर्वोच्च अदालतको आदेशपछि रिहा गरिएको छ भने अन्य केही आरोपित फरार रहेको जनाइएको छ ।
व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने शाही नै बिचौलीया भट्टका साझेदार, पैसा नै नतिरी पाउँथे शेयर
अनुसन्धान प्रतिवेदनअनुसार यो समूहले हिमालयन रि–इन्स्योरेन्ससहित पाँच कम्पनीबाट करिब ३ अर्ब ७३ करोड रुपैयाँ गैरकानुनी रूपमा सारेर प्रतिस्पर्धी कम्पनीहरूमा सेयर खरिद गरेको पाइएको विभागको दाबी छ ।
विभागले बिमा ऐन, २०७९ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत गैरकानुनी रूपमा आर्जित सम्पत्तिको स्रोत लुकाउने, स्वरूप परिवर्तन गर्ने तथा लगानीमार्फत वैध देखाउने कार्य गरेको आरोपमा अनुसन्धान अघि बढाएको जनाएको छ । कान्तिपुर दैनिकको सहयोगमा
सम्बन्धीत समाचार:
रास्वपा एक्शन मोडमा: भट्ट टार्गेट, हिमालयन रि वाट गोल्छा आउट
बिचौलीया भट्टलाई १० दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
धमाधम अनुसन्धानमा तानिदैँ हिमालयन रि का सञ्चालक, अग्रवाल परिवारकै बयान
सम्पत्ति लुकाउने दीपक भट्टको खेल फेलः सासुको नाममा खोलिएको कम्पनी निलम्बित
तत्कालीन प्रधानमन्त्री ओलीले रोकेका थिए भट्टको अनुसन्धान
सम्पत्ती शुद्धिकरण अनुसन्धान विभागले थाल्यो ठूला बिचौलियाको अनुसन्धान, यस्तो छ नालीबेली

